साउनको अन्तिम सोमबार शिवालयहरुमा देखियो भक्तजनको भीड

गैँडाकोट, ३० साउन । साउनको अन्तिम सोमबार देशभरका शिवालयमा पूजाअर्चनाका लागि भक्तजनहरूको भीड लागेको छ । बिहानैदेखि शिव मन्दिरमा भक्तहरूको भीड लागेको हो ।
देशका अन्य भागमा जस्तै सोमबार गैँडाकोट नगरपालिकाभित्र रहेका विभिन्न मन्दिरमा भक्तजनको चहलपहल उत्साहपूर्ण देखिएको छ । गैँडाकोट २ मा रहेको गोपेश्वर महादेव मन्दिर, गैँडाकोट ४ मा रहेको कोटेश्वर महादेव मन्दिर, गैँडाकोट ६ मा रहेको महादेव मन्दिर, महादेव भ¥याङ, गैँडाकोेट ७ मा रहेको हरिहर मन्दिर, परमानन्द सन्न्यास आश्रम र गैँडाकोट ८ मा रहेको कालिका मन्दिरमा भक्तजनको भीड लागेको थियो ।
साउन महिना विशेष गरेर भगवान महादेवको प्रिय महिना भएकोले साउनको सोमबार विशेष पूजा आराधना गर्ने गरिन्छ । सोमबारका दिन पूजा आराधना र अर्चना गर्नाले मनोवाञ्छित फल प्राप्त हुने विश्वास रही आएको छ । यो वर्ष साउनमा ५ वटा सोमबार परेका छन् ।
हरिशयनी एकादशी अर्थात् आषाढ शुक्ल एकादशीमा भगवान विष्णु क्षीर सागरमा सुतेपछि हरिबोधिनी एकादशीसम्म भगवान शिवले सृष्टि सञ्चालनको जिम्मा लिन्ने शास्त्रोक्त कथन छ । सूर्य दक्षिणायनपछि विशेष चार्डपर्वको सुरुवातको संकेत गर्ने पूर्र्वीय संस्कृतिमा साउने सोमवार आफैँमा विशेष महत्वको महिना हो ।
पार्वतीले साउन महिनाभर निराहार रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको शास्त्रमा वर्णित भएकोले महिलाहरूले यसलाई बढी महत्व दिन्छन् । साउन महिनाको अरू दिन नसके पनि सोमबार व्रत बसी शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ । साउने सोमबारका दिन भगवान शिवको विशेष पूजाआराधना गर्ने परम्परा छ ।
तपाइँको प्रतिक्रिया