आज साउनको पहिलो सोमबार, शिवालयमा देखियो भक्तहरूको भीड

गैँडाकोट, २ साउन । साउनको पहिलो सोमबार देशभरका शिवालयमा पूजाअर्चनाका लागि भक्तजनहरूको भीड लागेको छ । बिहानैदेखि पशुपति लगायत देशभरका शिव मन्दिरमा भक्तहरूको भीड लागेको हो ।
साउन महिना विशेष गरेर भगवान महादेवको प्रिय महिना भएकोले साउनको सोमवार विशेष पूजा आराधना गर्ने गरिन्छ । सोमबारका दिन पूजा आराधना र अर्चना गर्नाले मनोवाञ्छित कामना सिद्ध हुने विश्वास रही आएको छ । यो वर्ष साउनमा ५ वटा सोमबार परेका छन् । पहिलोपटक व्रत लिनेहरूले ५ वटा सोमबार परेको वर्षमा व्रत बस्नु उचित हुने शास्त्रोक्त कथन छ ।
हरिशयनी एकादशी अर्थात् आषाढ शुक्ल एकादशीमा भगवान विष्णु क्षीर सागरमा सुतेपछि हरिबोधिनी एकादशीसम्म भगवान शिवले सृष्टि सञ्चालनको जिम्मा लिन्ने शास्त्रोक्त कथन छ । सात्विक खानपान र हरियाली चुरा पोते जस्ता सौभाग्यको साथमा मनाइने साउने सोमवार आजबाट शुरु भएको छ । सूर्य दक्षिणायनपछि विशेष चार्डपर्वको सुरुवातको संकेत गर्ने पूर्वीय संस्कृतिमा साउने सोमवार आफैँमा विशेष महत्वको महिना हो । पार्वतीले साउन महिनाभर निराहार रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको शास्त्रमा वर्णित भएकोले महिलाहरूले यसलाई बढी महत्त्व दिन्छन् ।
महिनाको अरू दिन नसके पनि सोमबार व्रत बसी शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ । साउने सोमबारका दिन भगवान शिवको विशेष पूजाआराधना गर्ने परम्परा छ । ज्योतिष शास्त्रानुसार सोमवारको स्वामी भगवान शिव भएकाले यो दिनको शिवको उपासना विशेष मानिन्छ ।
महिनाको सोमवार गरिने शिवको व्रत पूजा विशेष फलदायी हुने मान्यता छ । यस दिन आफू र आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु एव विभिन्न कामना गर्दै व्रत बस्ने परम्परा छ । हस्ता नक्षत्रयुक्त सोमवारको व्रतको प्रभावले पार्वतीले महादेव स्वामी पाएको प्रसंग पुराणमा पाइन्छ । साउनको महिना व्रत बसी शिवको पूजा गरे आफू, श्रीमान, सन्तान एवं परिवार सबैको कल्याण हुने धार्मिक विश्वास छ ।
तपाइँको प्रतिक्रिया