नवजागरण नमूना माविले मङसिरमा स्वर्ण महोत्सव मनाउने

नवलपुर २२, कात्तिक
नवलपरासी पूर्वको नवजागरण नमूना माध्यमिक विद्यालयले स्थापनाको ५० वर्ष पुरा गरेको अवसरमा स्वर्ण महोत्सव मनाउने भएको छ ।
मध्यविन्दु–७ चोरमारामा अवस्थित सो विद्यालयले यहीं मंसिर २९ गते देखि पुस ४ गते सम्म महोत्सव मनाउने भएको हो । विद्यालयले मंगलबार विद्यालय परिषरमा भेला आयोजना गरि स्वर्ण महोत्सवको तयारीबारे जानकारी दिएको हो ।
निर्वाचित जनप्रतिनिधि, विद्यालयका संस्थापक देखि विभिन्न समयमा नेतृत्व गर्ने व्यक्ति सहित विभिन्न सरोकारवाला र अभिभावकहरुको उपस्थितिमा भएको भेलामा स्वर्ण महोत्सवलाई कसरी व्यवस्थित र ऐतिहासिक बनाउन सकिन्छ भन्ने विषयमा अन्र्तक्रिया गरिएको थियो ।
कार्यक्रममा मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले मध्यविन्दु नगरपालिकाको समग्र शैक्षिक क्षेत्रमा नेतृत्वदायी भूमिका खेलेको नवजागरण नमूना माध्यामिक विद्यालय स्थापनाको ५० वर्ष पुरा गर्नु सबै नगरबासीको लागि गौरवको विषय भएको बताउनुभयो । उहाँले नगरपालिकाले विगत देखि नै विद्यालयको शैक्षिक तथा भौतिक विकासमा सहयोग गर्दै आएको स्मरण गर्दै नगरपालिकाको तर्फबाट हुन सक्ने हरेक सहयोगको लागि आफु तयार रहेको बताउनुभयो ।
मध्यविन्दु नगरपालिकाका पूर्व नगर प्रमुख एवम् विद्यालयका पूर्व प्राधानाध्यापक समेत रहनु भएका चन्द्र बहादुर रानाले विद्यालयले समय अनुसार आवश्यक भौतिक तथा शैक्षिक प्रगति गर्दै आएको बताउनुभयो । उहाँले विद्यालयमा हुने हरेक शैक्षिक कार्यहरुलाई सफल बनाउन सबै पक्षको साँझा समझदारी र हातेमालो आवश्यक रहेकोमा जोड दिनुभयो ।
मध्यविन्दु नगरपालिका शिक्षा शाखा प्रमुख टेक प्रसाद पाण्डेले विद्यालय स्थापना र त्यसको निरन्तरता साथै समय अनुसारको शिक्षा प्रदान गर्नु आफैमा महत्वपूर्ण हुने भन्दै सबै अभिभावक, शिक्षक र विद्यार्थीको समेत साँझा पहलमा आजको अवस्था आउन सफल भएको बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक हरी प्रसाद देवकोटाले नवजागरण नि.मा.वि. देखि नवजागरण नमूना मा.वि. सम्मको यात्रा सबैको साँझा पहलमा सम्भव भएको भन्दै संस्थापक, शिक्षक, अभिभावक, चन्दादाता र विद्यार्थीहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले विद्यालयको शैक्षिक एवम् भौतिक विकासमा विभिन्न व्यक्ति, संस्थाहरुको सहयोग रहदै आएको भन्दै त्यसको निरन्तरताको अपेक्षा विद्यालयले राखेको बताउनुभयो ।
कार्यक्रममा मध्यविन्दु ७ का वडा अध्यक्ष कर्णबहादुर मल्ल, वडा नं. ५ का वडा अध्यक्ष लाभप्रसाद पाठक, विद्यालयको पूर्व अध्यक्षहरु रमेशचन्द्र पंगेनी, पदम बहादुर रायमाझी, पूर्व प्रधानाध्यापक टुक बहादुर केसी, नवजागरण बहुमुखी क्याम्पसका पूर्व अध्यक्ष पदम लम्साल, मध्यविन्दु उद्योग वाणिज्यसंघका अध्यक्ष केदार प्रसाद पराजुली, सामुदायिक रेडियो दर्पणका अध्यक्ष देवलाल काफ्ले सहित अक्षयकोषदाता, जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिन्दु काफ्लेले विद्यालय आजको अवस्थामा आउन सबै पक्षको महत्वपूर्ण भूमिका रहेको स्मरण गर्दै स्वर्ण महोत्सवलाई ऐतिहासिक गराउन सबै पक्षले आवश्यक सहयोग प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
मध्यविन्दु नगरपालिकासंगै जिल्ला र देशमा नै आफ्नो छुट्टै स्थान बनाउन सफल नवजागरण नमूना मा.वि. को २०२९ मंसिर २९ गते स्थापना भएको थियो । २०१६ सालमा नै विद्यालय स्थापना भएपनि नि.मा.वि. तहको अनुमति लिने क्रममा प्रा.वि. तह हस्तान्तरण गरी २०२९ सालमा पुनः विद्यालय दर्ता भएको अभिलेख रहेको छ ।
तपाइँको प्रतिक्रिया