एसईई परीक्षामा पाँच लाख विद्यार्थी सहभागी

काठमाडौँ ,९ वैशाख । कोरोना महामारीका कारण दुई वर्षदेखि हुन नसकेको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबारदेखि सुरु भएको छ । यसवर्षको एसईई परीक्षामा देशभरका २ हजार ७ परीक्षा केन्द्रमा ५ लाख १४ हजार ७ सय ६० विद्यार्थी सहभागी छन् ।
शैक्षिक सत्र २०७६ र २०७७ मा विद्यालयकै मूल्यांकनका आधारमा राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको थियो । यसपालि बोर्डले तयार पारेको प्रश्नपत्रका आधारमा विद्यार्थीले निश्चित परीक्षा केन्द्रबाट दुई वर्ष पहिलेको जस्तै परीक्षा दिइरहेका छन् । नियमिततर्फ ४ लाख ८८ हजार ७ सय ४२ र ग्रेडवृद्धितर्फ ११ हजार ४ सय ५४ ले परीक्षामा सहभागी भएका छन् । ग्रेडवृद्धि परीक्षा दिने विद्यार्थी दुई वर्षअघिका हुन् । गत दुई वर्ष आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्दा ग्रेडवृद्धिको अवसर दिइएको थिएन । २९९ प्राविधिक विद्यालयका १४ हजार ५ सय ६४ विद्यार्थी पनि एसईईमा सामेल भएका छन् ।
साउन १ गतेदेखि कक्षा ११ को शैक्षिक सत्र सुरु हुनुअघि नै एसईईको नतिजा सार्वजनिक गरिसक्ने बोर्डले जनाएको छ । प्रदेशलाई उत्तरपुस्तिका परीक्षण, सम्परीक्षणको काम सकेर पठाउने जिम्मेवारी बोर्डले दिएको छ । प्रदेशले बोर्ड प्रदेश कार्यालयको समन्वयमा काम गर्नेछ । प्रदेशमा सामाजिक विकास मन्त्रालयका सचिवको संयोजकत्वमा परीक्षा समन्वय समिति र जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला परीक्षा समन्वय समिति रहने व्यवस्था छ ।
कस्तो होला परीक्षा ?
शिक्षाविद्हरु नियमित कक्षा लिन नपाएका विद्यार्थीको पुरानै प्रद्धतिबाट मूल्यांकन गर्दा राम्रो नतिजा नदेखिने बताउँछन् । कोरोना संक्रमण रोकथामका लागि सरकारले पहिलोपटक २०७६ चैत ११ गतेदेखि देशभर लकडाउन ग¥यो । त्यस वर्ष कक्षा ९ सम्मका विद्यार्थीले परीक्षा दिइसकेका थिए भने एसईई र कक्षा १२ को परीक्षा हुन सकेको थिएन ।
लकडाउनका कारण विद्यालय खुल्न नसकेपछि झण्डै ६ महिनापछि २०७७ कात्तिक–मंसिरमा मात्र विद्यालय खुले । पढाइ अवधि छोटो हुने भन्दै सरकारले वैशाखमा सकिने शैक्षिक सत्र पनि असारसम्म धकेल्यो । तर कोरोना महामारीको दोस्रो लहर आएपछि २०७७ को चैत १६ मा पुनः लकडाउन भयो र भौतिक उपस्थितिमा पठनपाठन बन्द ग¥यो ।
कोरोना महामारीका कारण विद्यालय नखुल्दा वैकल्पिक माध्यमबाट सिकाइ सहजीकरण गर्ने भन्दै सरकारले २०७७ सालमा निर्देशिका जारी ग¥यो । सहरी क्षेत्रमा अनलाइन प्रविधिबाट पढाइ भए पनि ग्रामीण क्षेत्रमा वैकल्पिक माध्यमबाट पठन पाठन हुन सकेन ।
केही पालिकाले रेडियो, टेलिभिजन, इन्टरनेट, मोवाइल आदि माध्यमबाट पनि पठन पाठन गराए । शैक्षिक सत्रको अन्त्यमा विद्यार्थीले परीक्षा पनि दिन पाएनन्, आन्तरिक मूल्यांकनबाटै माथिल्लो कक्षामा पुगे ।
असार १ गतेदेखि २०७८ सालको शैक्षिक शत्र सुरु भयो । विद्यालयहरु भने बन्द नै थिए । गत मंसिरदेखि मात्र भौतिक उपस्थितिमा पढाइ सुरु भयो । फेरि कोरोना संक्रमणको तेस्रो लहर देखिन थालेपछि माघ महिनाभर विद्यालय बन्द भयो । फागुन र चैतभर पढाइ सञ्चालन गरेर वैशाखमा परीक्षा गरिएको छ ।
पालिकाहरुले धेरै विद्यार्थी वैकल्पिक सिकाइको पहुँचमा नरहेकाले सिकाइ प्रभावकारी हुन नसकेको बताएको छ । यद्यपि विद्यार्थीको सिकाइ कस्तो रह्यो भन्ने बारेमा अहिले सञ्चालन हुने परीक्षाले केही देखाउने स्थानीय तहहरु बताउँछन् ।
सिकाइ उपलब्धि मापन गर्न नसकिने
शिक्षाविदहरु भने अहिलेको परीक्षा र यसको नतिजाले नतिजाले सिकाइ उपलब्धि मापन गर्न नसकिने बताउँछन् । शिक्षाविद् प्राडा सुशन आचार्य कोरोना महामारीका बेलामा बालबालिकाले धेरै समय घरमा बिताएकाले उनीहरुले के के सिके भन्ने कुरा किताबभित्रको विषय समेटिएको परीक्षाबाट थाहा हुन नसक्ने बताउँछिन् ।
उनी भन्छिन्, ‘अनलाइन पहुँचमा अधिकांश बालबालिका थिएनन् । जो थिए, उनीहरुले अलिअलि सिके । छोटो समय (भौतिक उपस्थितिमा) कक्षा लिएको आधारमा गरिएको परीक्षाबाट सिकाइ उपलब्धी मापन गर्न सकिँदैन ।’
अहिलेको परीक्षाबाट विद्यार्थीहरुले घरमा हुँदा सिकेको सीप जाँच नसक्ने उनको बुझाइ छ । ‘विद्यार्थीले घरमा सिकेको व्यवहारिक सिकाइलाई पनि मापन गर्ने प्रणाली भएको भए हुन्थ्यो’ आचार्य भन्छिन् ।
शिक्षाविद् प्राडा विद्यानाथ कोइराला विद्यालयमा पढाइ नै नभएको र विद्यार्थीले घरमा सिकेको कुरा सिकाइसँग नजोडिएकाले परीक्षाबाट सिकाइ उपलब्धि नाप्न नसकिने बताउँछन् । उनी भन्छन्, ‘निजी विद्यालयले जाँचमा के प्रश्न आउँछ भनेर घोकाउँछन् र परीक्षा लिन्छन् । पब्लिक स्कुलका शिक्षकले लेखिदिने र विद्यार्थीले सार्दा रहेछन् । त्यसरी लिइएको जाँचको आधारमा आएको नतिजालाई कसरी सिकाइ उपलब्धि मान्न सकिन्छ ?’
तपाइँको प्रतिक्रिया