गणेशबहादुर स्मृति कपको फाइनलमा पुग्यो टाईगर क्लब

चितवन, २५ वैशाख । टाईगर युथ क्लब पाँचौ स्वर्गीय गणेशबहादुर स्मृति कपको फाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको दोस्रो सेमिफाइनल खेलमा सौराहा युवा समाजलाई ३–१ ले हराउँदै टाईगरले फाइनलमा स्थान बनाएको हो । टाईगरको जितमा म्याक्सवेलले २ तथा रोजल दाहालले एक गोल गरे । सौराहाले एक उपहार गोल पायो ।
पहिलो हाफको पाँचौ मिनेटमा नै सौराहाले उपहार गोलबाट खेलमा अग्रता लियो । टाईगरका सरोज तामाङले आत्मघाती गोल गरे । आत्मघाती गोलबाट पछि परेको टाईगरले पहिलो हाफमा नै बराबरी गोल फर्कायो । पहिलो हाफमा थप गरिएको अतिरिक्त समयको चौथो मिनेटमा टाईगरका म्याक्सवेलले बराबरी गोल फर्काए ।
दोस्रो हाफमा टाईगरले २ गोल थप्यो । दोस्रो हाफको आठौं मिनेटमा रोजलले गोल गर्दै टाईगरलाई २–१ लाई अग्रता दिलाए । दोस्रो हाफमा थप गरिएको अतिरिक्त समयको दोस्रो मिनेटमा म्याक्सवेलले व्यक्तिगत दोस्रो गोल गरेपछि टाईगर ३–१ ले विजयी भयो । म्याक्सवेल नै म्यान अफ दि म्याच भए ।
टाईगरले अब उपाधिका लागि आइतबार जु एफसी भरतपुर २९ जुगेडीको सामना गर्नेछ । जुगेडी यसअघि आयोजक नारायणी मोटर्स युनिक क्लब ‘बी’ लाई हराउँदै फाइनलमा प्रवेश गरिसकेको छ ।
भरतपुर ११ कैलाशटोलमा जारी प्रतियोगिताको विजेताले एक लाख २० हजार तथा उपविजेताले ६० हजार प्राप्त गर्नेछन् । सर्वोकृष्ट खेलाडीले पाँच हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्स, स्ट्राईकर, उच्च गोलकर्ता तथा उदयमान खेलाडीले नगद तीनतीन हजार प्राप्त गर्ने संयोजक निर्मल अंगाईले जानकारी दिए । नारायणी मोटर्स मुख्य प्रायोजक रहेको प्रतियोगिताको सहप्रायोजकमा सेन्ट्रल कलेज रहेको छ ।
तपाइँको प्रतिक्रिया