वृद्धभत्ता एमालेको ब्राण्ड भएको पूर्वअर्थमन्त्री पाण्डेको दावी

काठमाडौँ, १८ जेठ । नेकपा एमालेका सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले वृद्धभत्ता एमालेको ब्राण्ड भएको दावी गरेका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफलमा सहभागी हुँदै उनले यस्तो दावी गरेका हुन् ।
उनले भने, ‘वृद्धभत्ता एमालेको ब्राण्डजस्तै हो। तपाईं उमेर ६८ होइन, ५८ नै किन नपुर्याउनोस् । एमालेलाई नै ताली ठोक्छन् । तपाईंले ५ हजार पुर्याउँछु भनेर घोषणापत्रमा बोलेको होइन, किन पुर्याइएन ?’
उनले मिर्गौला पीडितलाई डायलासिस निःशुल्क गर्नुपर्ने व्यवस्था गर्नुपर्ने पनि बताएका छन् । डायलासिस गर्ने मेसिनको अभाव रहेका बेला सरकारले उपलब्ध गराउने भत्ता उपयोगी नहुने पूर्वअर्थमन्त्री पाण्डेको भनाइ छ ।
उनले भने,‘ क्यान्सर, मिर्गौला रोगीलाई पाँँच हजार दिन्छु भन्नु भएको छ । यो राम्रै हो । तर, अहिले अस्पतालमा डायलासिस गर्ने मेसिन नै छैन । ६ महिना, एक वर्ष पालो कुर्नुपर्ने अवस्था छ । त्यो पाँच हजार लिनुअघि नै मृत्यु भइसक्छ । अहिले सम्पूर्णको डायलासिस निःशुल्क गर्छु र मेसिन पनि किन्छु भन्नुपर्थ्यो ।’
पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारको बजेट नीतिमाथि पनि प्रश्न उठाएका छन् । ‘सरकारले बजेट मार्फत धान, मकै गहुँ लगायतका केही कृषिजन्य वस्तुको आयात ३० प्रतिशतले कटौती गर्ने भनेको छ । बजेट पुरै कृषि उत्पादनमा केन्द्रित भएको भनिएको छ । तर मल नै नभई कसरी उत्पादन वृद्धि हुन्छ, अर्थमन्त्रीज्यू ?’ प्रतिप्रश्न गर्दै पूर्वमन्त्री पाण्डेले भने, ‘चालु आर्थिक वर्षको भन्दा अझ मल आयातमा बजेट कटौती गरेर कसरी उत्पादनमा जान सकिन्छ ?’
आगामी आर्थिक वर्षका लागि सरकारले मल खरिदका लागि १५ अर्ब रुपैयाँ छुट्याएको छ । तर, चालु आर्थिक वर्षमा नै २७ अर्ब रुपैयाँ मल खरिदकै लागि छुट्याइएकामा यस पटक घटाइनु र कृषि उत्पादनमा केन्द्रित हुने भन्नु सरकारको विरोधाभास तर्क भएको उनले बताए ।
चालु आर्थिक वर्ष १० महिनामा नै ४८ अर्ब रुपैयाँ बराबरको चामल र १५ अर्ब रुपैयाँ बराबरको मकै आयात भइसकेको भन्दै पूर्वमन्त्री पाण्डेले यो अझ बढ्न सक्ने बताए ।
तपाइँको प्रतिक्रिया