जहाज दुर्घटनामा परेर निधन भएकाहरूको शव बल्ल पायो परिवारले

काठमाडौँ, १९ जेठ । मुस्ताङको थासाङ गाउँपालिका–२, सानुसरेमा तारा एयरको जहाजमा दुर्घटना हुँदा निधन भएकाहरूको शव बिहीबार बल्ल परिवारलाई जिम्मा लगाइएको छ । शव अन्त्येष्टि गर्न परिवारको जिम्मा लगाइएको हो ।
ती २२ वटा शवको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा पोस्टमर्टम गरिएको थियो । पोस्टमर्टम कार्य सकिएकोले शव पहिचान गरी परिवार तथा आफन्तजनलाई जिम्मा लगाइएको हो ।
शव प्राप्त गरी अन्तिम संस्कार गर्नका लागि अस्पताल परिसरमा आफन्तजन जम्मा भएका थिए । कोहीले शव लगिसकेका छन् भने कोही लैजाने तयारी छन् ।
तामाङ समुदायका सात जनाको उक्त दुर्घटनामा ज्यान गएको थियो । उनीहरूको शव अन्त्येष्टिका लागि स्वयम्भू लगिएको छ ।
आइतबार पोखराबाट मुस्ताङतर्फ उडेको तारा एयरको जहाज थासाङ–२, सानुसरेमा दुर्घटनामा परेको थियो ।दुर्घटनामा परेको जहाज सोमबार बिहान मात्र फेला परेको थियो । यार्सागुम्बा खोज्न गएकाहरूले जहाज देखेपछि स्थानीय प्रशासनलाई खबर गरेका थिए ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरी दुर्घटनास्थलबाट शव काठमाडौं ल्याइएको थियो । दुर्घटनामा चालक दलका तीन सदस्यसहित १३ जना नेपाली, ४ भारतीय र २ जर्मनी नागरिकको निधन भएको थियो ।
तपाइँको प्रतिक्रिया