अझै भेटिएन बेपत्ता जहाज : मानापाथी हिमालको फेदीमा जहाज खोज्न ६५ जना सेनाको टोली पैदल जाँदै

काठमाडौँ, १५ जेठ । पोखराबाट जोमसोमतर्फ जाँदै गरेको तारा एयरको जहाज अझैसम्म भेटिएको छैन । बिहान १० बजेर १० मिनेट जाँदादेखि सम्पर्कविहीन भएको जहाज साँझ सवा ६ बजेसम्म पनि फेला पार्न सकिएको छैन ।
मुस्ताङको मानापाथी हिमालको फेदीमा जहाज भेटिएको स्थानीयले बताएको भन्दै जहाजको खोजीका लागि नेपाली सेनाको ६५ जनाको टोली पैदलै त्यसतर्फ प्रस्थान गरेको छ । तर टोली त्यहाँ पुग्न सकेको छैन । कतिबेला पुग्छ भन्ने भन्न नसकिने नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए । उनका अनुसार मानापाथी हिमालको फेदमा जहाज जलेको अवस्थामा देखेको स्थानीयले खबर गरेपछि नेपाली सेनाको टोली त्यसतर्फ लागेको हो ।
“नेपाली सेनाको हेलिकोप्टर जोमसोममा छ,” उनले भने, “खराब मौसमका कारण अघि बढ्न सकिएको छैन । आज उड्न नसक्ने अवस्था आएमा अब बिहानैबाट मात्रै हेलिकोप्टर उड्नेछ । अहिले जोमसोममा उपरथी बाबुराम श्रेष्ठसहितको टोली रहेको छ । स्थानीयले जहाज भेटिएको बताएपछि ६५ जनाको टोली अहिले मानापाथी हिमालको फेदीतर्फ अघि बढेको छ । पैदल टोली पनि कतिबेला पुग्छ भन्न सकिँदैन ।”
यस्तो छ तारा एयरको भनाइ
तारा एयरले दोस्रो विज्ञप्ति जारी गर्दै भनेको छ, “आज बिहान पोखराबाट जोमसोमको लागि ९ः५५ बजे उडेको तारा एयरको वायुयान सम्पर्कविहीन भएपश्चात स्थल तथा हवाई मार्गमार्फत् तीव्ररुपमा खोजी कार्य भइरहेको छ । वायुयान अन्तिमपटक जोमसोम टावरसँग १०ः०७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको थियो । वायुयान हराईरहेको सम्भावित स्थानहरु न्याउरीकोट, कोवाङ, लेते, घोडेपानी र टिटी ताल वरिपरि खोजबिन कार्य गर्न नेपाली सेना, नेपाल प्रहरी तथा तारा एयरको उद्धार टोली परिचालन गरिएको छ । साथै, नेपाली सेनाको एमआई १७ र फिस्टेल एयरको हेलिकोप्टरमार्फत् पनि खोजी भइरहेको व्यहोरा जानकारी गराउँदछौँ ।”
तपाइँको प्रतिक्रिया