तीन किशोरी मृत्यु प्रकरण : घटना रहस्यमय, हत्याको आशंका

झापा, १० साउन । कचनकवल गाउँपालिका–५ पाठामारीकी १७ वर्षीया अञ्जली गणेश बिहानै बगान जाने भएकाले आमा वैशाखी देवीले सधैँ ६ बजेभित्र खाना पकाइसक्थिन् । गत शुक्रबार पनि वैशाखीले अञ्जलीलाई खान पकाएर खुवाइन् । अनि टिफिन बक्समा दिउँसोका लागि खाजा पनि राखिदिइन् । अञ्जली खाजा बोकेर नजिकैको सुनकोसी चिया बगानतिर लागिन् ।
शुक्रबार साँझ उनका संगीहरू आए । तर, उनले चाहिँ ‘घर नआउने ’ खबर पठाइन् । त्यो रात उनी सानिमा तारा गणेशको घरमै बसिन् । ‘उ फोन बोक्दिन थिई, त्यही भएर छिमेकी साथीलाई घर नआउने खबर पठाएकी थिई,’ आमा वैशाखी देवीले भनिन्,‘उसँगको अन्तिम भेट त्यही थियो ।’
परिवारका अनुसार अलि अन्तर्मुखी स्वाभाव थियो उनको । बिहीबार बेलुका र शुक्रबार विहान पनि उनीसँग वैशाखीदेवीको खासै कुरा भएन । शुक्रबार घरबाट सकुशल हिँडेकी छोरी आइतबार बिहान झुन्डिएको खबर वैशाखीलाई सपनाजस्तो लागेको छ । ‘सपनाजस्तो लागेको छ’, भावविह्वल हुँदै उनले भनिन्,‘छोरी बगानबाट फर्किंदै होली झैं लागिरहेको छ ।’ उनका बुवा पुवालु र दाजु सिक्किमको गान्तोकमा मजदुरी गर्थे । आइतबार बिहान १० बजेतिर छोरीको मृत्युको खबर सुनेपछि अत्तालिँदै उनी राति नै घर आइपुगे । ‘बगानमा काम गरेर घर चलाउन सहयोग गर्दै आएकी थिई,’ पुवालुले भने,‘ वज्रपातै भयो ।’ अञ्जली जेठी छोरी हुन् । उनका दाजु, एक भाइ र एक बहिनी छन् ।
अञ्जली सानिमाको घरबाट शनिबार घर फर्किने कुरा थियो । तर, सानिमाकी जेठाजुकी छोरी करिना र अर्की संगी कल्पनासँगको भेटपछि घर जाने योजना रोकियो । कल्पना र करिनासँग मोबाइल फोन पनि थियो । तीनै किशोरीले शनिबारे बिदा मनाउने निर्णय गरे । ‘मैले ‘खुरुक्क घर जानू’ भनेर धान रोप्न हिडिहालेँ,’ सानिमा ताराले भनिन्,‘म धान रोप्न हिँडेपछि तीन्टी भेला भएर घुम्न हिँडेछन् ।’
परिवारका अनुसार अञ्जली फोटो खिच्न भनेपछि हुरुक्क हुन्थिन् । गत वर्ष तीनै बनियानी बजारको एउटा स्टुडियोमा सामूहिक तस्बिर खिचेका थिए । शनिबार पनि फोटो खिच्न पाउने लालशाले उनी घर फर्किनुको साटो संगीको साथ लागेर गएकी थिइन् ।
उनीहरू घरबाट निस्किँदा करिब १२ बजेको थियो । घरबाट निस्किएपछि उनीहरू रातिसम्म बेपत्ता भए । रातिसम्म नफर्किएपछि सबैका परिवारले खोजबिन गरे तर, भेटेनन् । रातको समय, त्यसमाथि आरीघोप्टे पानी परेका बेला हराएका छोरी खोज्न कठिन थियो ।
श्रमिकले नै सुनकोसी चिया बगाननजिकै बयरको रुखमा तीनै जनालाई झुन्डिएको शव फेला पारेका थिए । पहिलो पटक शव देख्ने श्रमिक त बेहोस नै भएका थिए । त्यसपछि अर्का व्यक्तिले परिवार र प्रहरीमा घटनाबारे जानकारी गराएका हुन् ।
घटनास्थल भारतसँग सीमानजिकै हो । प्रहरीका अनुसार तीनमध्ये एक किशोरीको फोनमा केही समयअघि भारतीय नम्बरमा सम्पर्क भएको देखिएको छ । पाठामारी प्रहरी चौकीका इन्चार्ज असई भरत कोइरालाले घटना रहस्यमयी देखिएको बताएका छन् । ‘ज्यादै अप्ठेरो ठाउँमा उनीहरूको शव भेटिएको छ, कसरी त्यहाँ उनीहरू झुन्डिए होलान् भन्ने आशंका उत्पन्न भएको छ,’ असई कोइरालाले भने ।
स्थानीय बासिन्दा पनि घटना हत्या भएको हुन सक्ने बताउँछन् । सीमावर्ती क्षेत्रमा भएको यो घटनामा भारतीयहरूको संलग्नता पनि हुन सक्ने आशंका छ । राप्रपाका कचनकवल गाउँपालिका सभापति इन्द्रकुमार गणेशले हत्यापछि झुन्डयाइएको हुन सक्ने बताउँछन् । ‘यस्तो अप्ठेरो ठाउँमा तीन–तीन जना मान्छे झुन्डिए भन्ने पत्याउन सकिने अवस्था छैन ?’
प्रहरी भने पोस्टमार्टम रिपोर्ट आएपछि घटनाबारे थप जानकारी प्राप्त हुने बताउँछ । ‘कुनै चोटपटक वा निलडाम केही छैन,’ जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी वसन्त पाठकले भने,‘हत्या भएको दाबी गर्ने कुनै आधार नै छैन । यद्यपि पोस्टमार्टम रिपोर्ट आएपछि धेरै कुरा प्रस्ट हुने छ ।’ आइतबार नै तीनै जनाको अन्त्येष्टि भएको परिवारले जनाएको छ । (इकान्तिपुरबाट)
तपाइँको प्रतिक्रिया