नेपालमा बढ्यो बाघको संख्या, पुग्यो तीन सय ५५

काठमाडौँ, १३ साउन । नेपालमा बाघको संख्या उल्लेख्यरुपमा बढेर तीन सय ५५ पुगेको छ । अन्तर्राष्ट्रिय बाघ दिवसको अवसर पारेर शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले चौंथो राष्ट्रिय बाघ गणनाको नतिजा सार्वजनिक गरेका हुन् । गत मंसिर १९ गते सुरू भएर फागुन २८ गते बाघ गणना सम्पन्न भएको थियो ।
बाघको संख्या ३ सय ५५ पुगेसँगै नेपालले सन् २०२२ सम्ममा संख्या दोब्बर बनाउन गरेको संकल्प पनि पूरा भएको छ । सबैभन्दा धेरै बाघ चितवनमा राष्ट्रिय निकुञ्जमा पाइएका छन् । यहाँ १२८ वटा बाघ छन् । त्यसैगरी बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ बाघ पाइएका छन् । बाँकेमा २५, पर्सामा ४१, शुक्लाफाँटामा ३६ वटा बाघ पाइएका हुन् ।
बाघ गणनाका लागि चितवन–पर्सा, बाँके–बर्दिया र शुक्ला–लालझाडी–जोगबुढा गरेर तीनवटा कम्पलेक्समा विभाजन गरेर गणना गरिएको थियो । बाघ गणनामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले टाइगर एन्ड प्रे बेस मोनिटरिङ प्रोटोकोल,२०१७ ले निर्दिष्ट गरे अनुसार क्यामेरा ट्रायापिङ र अकुपेन्सी सर्भे विधि अपनाएर गरेको थियो ।
नेपालमा पछिल्लो ४ वर्षमा १२० बाघ थपिएका छन् । यससँगै बाघको संख्या ३५५ पुगेको हो । सन् २०१८ मा नेपालमा २३५ बाघ थिए । नेपालले सन् २०१० मा रुस को सेन्ट पिटर्सवर्गमा बाघ पाइने देशहरूले दोब्बर बनाउने संकल्प गर्दै महत्त्वपूर्ण निर्णय गरेका थिए । नेपालले यो लक्ष्य सन् २०१८को गणनामा झन्डै हासिल गरेको थियो ।
सन् २०१० नेपालमा १२१ बाघ थिए, सन् २०१३ को गणनामा १९८ पुगेको थियो भने सन् २०१८ मा बाघको संख्या २३५ पुगेका थिए । सन् २०१८ को गणनामा चितवनमा ९३, बर्दियामा ८७, बाँकेमा २१, पर्सामा १८ र शुक्लाफाँटामा १६ वटा बाघ पाइएको थियो । नेपाल बाहेक भारत, चीन, भुटान, रुस, बंगलादेश, भियतनाम, म्यानमार, मलेसिया, इन्डोनेसिया,थाइल्यान्ड र लाओसमा पाटेबाघ पाइन्छन् ।
बाघको इलाका बाघकै धमाका
बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठका अनुसार, भाले बाघहरू एउटै ठाउँमा बस्दैनन् । एउटै क्षेत्रमा दुईवटा भाले बाघ भए भने आपसमा लड्छन् । जित्ने बाघ आफ्नै ठाउँमा बस्छ हार्ने त्यो क्षेत्र छाडेर नजिकको मध्यवर्ती क्षेत्र, सामुदायिक वनतर्फ जान्छ । जवान भाले बाघले २० देखि ५० वर्गकिलोमिटर क्षेत्रलाई आफ्नो ‘टेरिटोरी’ बनाउँछ । आहाराको उपलब्धताका आधारमा बाघको ‘टेरिटोरी’ घटबढ हुन सक्छ । भाले बाघले ३ देखि ५ वटासम्म पोथी बाघलाई आफ्नो ‘टेरिटोरी’ भित्र राख्छ । तर अर्को भाले बाघलाई भने आफ्नो ‘टेरिटोरी’ मा छिर्न दिंदैन ।
तपाइँको प्रतिक्रिया