गैँडाकोटमा निकालियो निर्वाचन सचेतना र्याली

गैँडाकोट, १६ वैशाख । स्थानीय तह निर्वाचन निष्पक्ष र शान्तिपूर्णरुपमा सम्पन्न होस् भन्ने उद्देश्यले शुक्रबार गैँडाकोटमा निर्वाचन सचेतना र्याली निकालिएको छ । विजय विकास स्रोत केन्द्रको आयोजनामा निकालिएको र्याली कालिकाचोकबाट सुरु भई नगरपालिका परिसरमा पुगेर टुंगिएको थियो ।
र्याली समापन कार्यक्रममा बोल्दै निर्वाचन अधिकृतको कार्यालय गैँडाकोटकी निर्वाचन अधिकृत दीपशिखा मुनाकमीले निर्वाचन आचारसंहिता पालना गर्नमा जोड दिइन् । उनले आचारसंहिता हाम्रो आचरणसँग जोडिएको विषय भएको बताउँदै आचारसंहिता पालना गर्नु सबैको कर्तव्य भएको बताइन् ।
उनले सामाजिक सञ्जालमा कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि किसिमको अभिव्यक्ति दिन नहुने बताइन् । उम्मेदवारको चुनाव चिह्न अंकित टोपी, टिसर्ट, झोला लगायत कुनै पनि किसिमका सामग्री बनाउन र वितरण गर्न नपाइने भनी आचारसंहितामा स्पष्ट पारिएको उनले बताइन् ।
विजय विकास स्रोत केन्द्रका अध्यक्ष केशवप्रसाद सापकोटाले अहिलेको निर्वाचनमा पहिलाको जस्तो उत्साह घटेको बताए । उनले सामाजिक सञ्जालमा कुनै पनि उम्मेदवारप्रति गालीगलौज गर्न नहुने विचार व्यक्त गरे ।
सचेतना र्यालीमा विजय ग्रुपमा आवद्ध आधा दर्जन संस्थाका प्रतिनिधि, गैँडाकोट खेलकुद समिति, गैँडाकोट जेसिजलगायतका संघसंस्थाबाट सहभागिता रहेको थियो ।
तपाइँको प्रतिक्रिया